एउटै नगरपालिकाबाट गण्डकी प्रदेशमा दुई मन्त्री
पाेखरा | पुस २६, २०७९
स्याङ्जा: पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो ।
पुतलीबजार वडा नं १ की नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दास र वडा नं ५ का राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ विना विभागीय मन्त्री बन्नुभएको हो ।
सुन्दास र गुरुङले मन्त्री भएसँगै सोमबार राति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ खानुभएको थियो ।
ठुलाडिहीमा जन्मनुभएकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।
विद्यार्थी, महिला सङ्घ, जनसांस्कृतिक मञ्च, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हुँदै एमालेको नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो ।
वि.सं. २०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मङ्सिर ४ गते निर्वाचनमा क्षेत्र नं १ ९क० बाट जनयुद्धकी कमाण्डर अमृता थापामगरलाई पराजित गर्दै प्रदेश सांसद बन्नुभएको थियो ।
सुन्दासले एक हजार ४२४ मतले थापामगरलाई पराजित गर्दै देशकै एक मात्र दलित महिला निर्वाचित हुनुभएको थियो ।
आमाको प्रेरणा र सहयोगमा राजनीतिमा होमिएको स्मरण गर्दै सुन्दासले आमाको छोरी मन्त्री बनाउने सपना पूरा भए पनि हेर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
यस्तै, विद्यार्थीमा कम्युनिष्ट राजनीतिमा हुर्किनुभएका मन्त्री पञ्चराम गुरुङ वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा लाग्नुभएको थियो ।
१९ वर्ष वैदेशिक रोजगारीमा रहनुभएका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रेरणामा राजनीतिमा सक्रिय हुनुभएको थियो ।
एक वर्ष पहिला गण्डकी प्रदेश अध्यक्ष बन्नुभएका गुरुङ राप्रपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो ।
कुनै समय बुबा टोपबहादुर गुरुङ एमालेबाट वडा अध्यक्ष भएको र बाबासँगै राजनीति सिकेको मन्त्री गुरुङको भनाइ थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

